Logo

२९ कार्तिक, बारा । बारामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जनजागरण युवा क्लब, बाराको आयोजनामा पहिलो वार्षिक प्रविधि प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।

देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकाको समन्वयमा कार्यक्रम श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुरमा सम्पन्न भएको हो ।

‘प्रेरणा’ परियोजनाको अन्तर्गत सञ्चालित कार्यक्रमको उद्देश्य गुणस्तरीय र समावेशी शिक्षा, रोजगारीमैत्री सीप विकास तथा बालबालिका र युवाको क्षमता अभिवृद्धिमार्फत स्थानीय विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा तीन स्थानीय तहका ७ विद्यालयका विद्यार्थी, प्रविधि शिक्षकशिक्षिका, सेभ द चिल्ड्रेनका कर्मचारी, महागढीमाई नगर प्रमुख, तथा आयोजक संस्थाका प्रतिनिधिसहित करिब २५० जनाको सहभागिता रहेको थियो ।

बालबालिकामा प्रविधिका बारेमा अभिरुचि र बुझाइ बढाउन स्मार्ट चेली, रोबोटिक्स एसोसिएसन अफ नेपाल र कारखाना समूहका प्रतिनिधिहरूले विभिन्न प्रविधिसम्बन्धी सामग्री तथा उपकरणहरूको प्रदर्शन गरेका थिए ।

कार्यक्रमको उद्घाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गरेका थिए । उनले प्रविधि अबको एकाइसौँ शताब्दीको अपरिहार्य पक्ष भएको उल्लेख गर्दै विद्यालय, परिवार र समुदाय सबैले प्रविधिक शिक्षाप्रति ध्यान दिन आवश्यक रहेको बताए ।

जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले बालबालिकालाई जिज्ञासा राख्न र सिकाइमा सक्रिय सहभागी हुन आह्वान गर्दै आगामी वर्षहरूमा यहाँका विद्यार्थीद्वारा निर्मित प्रविधि नवप्रवर्तनहरू प्रदर्शन गरिने जानकारी दिए ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका विकासका लागि प्रविधि सल्लाहकार सचिन सापकोटाले परियोजनाको उद्देश्य तथा अपेक्षित प्रतिफलबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

त्यसैगरी सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक चन्द्र साह, मिन जी, अन्य प्राविधिक कर्मचारी तथा आयोजक संस्थाका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा. श्रीनिवास बैठा, र वरिष्ठ परियोजना संयोजक कृष्णप्रसाद यादवलगायत अन्य सरोकारवालाहरूको उपस्थितिले कार्यक्रममा थप उत्साह आएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यसप्रकारको प्रविधि प्रदर्शन कार्यक्रमले बालबालिकामा नवीन सोच, प्रविधिप्रतिको आकर्षण र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार