२९ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको राजनीतिक अवस्था अत्यन्त संवेदनशील बन्दै गएको भन्दै आफू र सभामुख दुवै ‘गम्भीर सुरक्षा जोखिम’मा परेका बताएका छन्।
शनिबार प्रदेशवासीका नाममा जारी गरिएको सम्बोधनमा मुख्यमन्त्री यादवले हालको तनावग्रस्त अवस्थाका कारण सुरक्षा निकायले विशेष सतर्कता अपनाउन आग्रह गरेको जानकारी दिए। उनका अनुसार बढ्दो राजनीतिक ध्रुवीकरण, निरन्तर भइरहेका आन्दोलन र उच्चस्तरीय निर्णयप्रति देखिएको असन्तुष्टिले नेतृत्व तह प्रत्यक्ष जोखिममा परेको छ।
यादवले भने, “सुरक्षा निकायकै विश्लेषण अनुसार मुख्यमन्त्री र सभामुख दुवैलाई लक्षित सुरक्षा थ्रेट बढिरहेको छ। कार्यक्रम सीमित गर्न, अत्यावश्यक बाहेक सार्वजनिक उपस्थितिमा विशेष सावधानी अपनाउन भनिएको छ।”
मुख्यमन्त्रीले आफू मात्र सुरक्षित भएर नहुने उल्लेख गर्दै अन्य मन्त्री, सांसद तथा जिम्मेवारीमा रहेका पदाधिकारीहरू पनि जोखिममुक्त नभएको बताए। “यदि प्रदेशको मुख्यमन्त्री र सभामुख सुरक्षित छैनन् भने अन्य जनप्रतिनिधि कसरी सुरक्षित हुन्छन् ? सुरक्षा चुनौती आन्दोलनकारीतर्फबाट देखिन्छ, जनताबाट होइन,” उनले भने।
मधेश प्रदेशमा पछिल्ला राजनीतिक विवाद, नेतृत्व परिवर्तन, सडक आन्दोलन र सत्ता–प्रतिपक्षबीच देखिएको तीव्र तानातानका कारण सुरक्षा वातावरण झनै संवेदनशील बनेको विश्लेषकहरूको टिप्पणी छ।

















