२९ कात्तिक,काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई पूर्ण सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार साँझ मूलधारका सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँगको छलफलमा राजदूत छनले आगामी निर्वाचनसँगै जारी द्विपक्षीय परियोजनामा प्रगति भएकोमा सन्तुष्टि व्यक्त गर्दै ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए। उनले भने, “नेपालमा व्यापार, लगानी, औद्योगिक पार्क निर्माणलगायत विभिन्न क्षेत्रमा प्रगति भइरहेको छ। केही आयोजनामा विलम्ब हुनु अस्वाभाविक होइन।”
राजदूत छनले आगामी चुनावपछि बन्ने स्थायी सरकारबाट ती परियोजनाहरू द्रुतगतिमा कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे। उनले अन्तरिम सरकारसँग पनि निकट सम्पर्कमा रहेर काम भइरहेको जानकारी दिए, तर निर्वाचनलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
चीनले सार्वजनिक गरेको पन्ध्रौँ पञ्चवर्षीय योजना अनुसार नेपाललगायत छिमेकीका लागि आर्थिक विकासका अवसर सिर्जना हुने र नेपालको आवश्यकताअनुसार योजनाहरू तर्जुमा गरिएको उनले बताए। कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने परियोजना अन्तिम चरणमा पुगेको पनि उनले जानकारी गराए।
राजदूत छनले नेपाल–चीन सम्बन्ध सधैं सुमधुर रहेको र चीन–नेपालबीचको मैत्रीपूर्ण सहकार्य स्थायी रहेको बताए। साथै, ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भूभाग भएको र नेपालको सबै सरकारले ‘एक चीन’ सिद्धान्त प्रति अटल ऐक्यबद्धता जनाएकोमा आभार व्यक्त गरे।
राजदूत छनले आधुनिक चीन निर्माण अघि जेनजी आन्दोलनको पृष्ठभूमि र त्यसको वैश्विक प्रभावबारे पनि आफ्नो दृष्टिकोण साझा गर्दै, नेपालमा राष्ट्रकेंद्रित विकास, सुशासन प्रवद्र्धन र सकारात्मक परिवर्तनका उपायहरू महत्वपूर्ण भएको बताए।
उनले चीनको पञ्चवर्षीय योजनामा विकास, सुरक्षा, सामाजिक सुशासन, राष्ट्रिय एकीकरण, बहुपक्षीय व्यापार प्रणालीमा समर्थन र उच्च प्रतिव्यक्ति आय लक्ष्य राखिएको उल्लेख गर्दै नेपालको विकासमा ती योजनाले योगदान पुर्याउने आशा व्यक्त गरे।

















