Logo

२९ कात्तिक,वीरगञ्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेस प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ (चौथो संस्करण) वीरगञ्जको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा राष्ट्रिय स्वाधीनता पार्टीका प्रवक्ता मनिष झाले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिमा निर्णायक भूमिका खेल्ने उल्लेख गरे। “आजको प्रतिस्पर्धा केवल अंक वा स्थानको लागि मात्र होइन, ज्ञानको प्रकाश फैलाउने यात्राको महत्वपूर्ण चरण हो,” उनले भने। विद्यार्थीहरूमा देखिएको उत्साह, जाँगर र प्रतिस्पर्धात्मक आत्मविश्वासले सबैलाई गर्वान्वित बनाएको उनले बताए।

कार्यक्रमको विशिष्ट आतिथ्य नेशनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, केन्द्रिय सदस्यहरू छेदुप लामा, राम बाबु सिंह, मोतिबुल राईन, राजु कार्की, प्रदेश उपाध्यक्षहरू लालजी ठाकुर र पप्पु गुप्ताले ग्रहण गरेका थिए। साथै, प्रदेश सचिव जितेन्द्र प्रसाद गुप्ता, कोषाध्यक्ष राम यस झा, सह–सचिव के एस फिगिसन, प्रदेश सदस्यहरू कौशलेन्द्र कुमार, विजय यादव, पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेल, लालबहादुर गुरुङलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

मधेस प्रदेशका ८ जिल्ला—पर्सा, बारा, रौतहट, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी र सिरहाबाट छानिएका विद्यार्थीहरूको सहभागितामा सम्पन्न प्रतिस्पर्धामा सप्तरी जिल्ला प्रथम, महोत्तरी दोस्रो र धनुषा तृतीय स्थान हासिल गर्न सफल भए। विजयी टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

वक्ताहरूले हाजिर–जवाफजस्ता कार्यक्रमहरूले विद्यार्थीको विश्लेषण क्षमता, तर्कशक्ति, प्रस्तुतीकरण सीप र समग्र ज्ञानवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने भन्दै प्रतियोगिताको उच्च सराहना गरे। कार्यक्रमले प्रदेशभरका विद्यार्थीहरूमा शैक्षिक प्रतिस्पर्धा र नेतृत्व विकासको सन्देश प्रसार गर्न सफल भएको आयोजकको भनाइ छ।


सम्बन्धित समाचार