Logo

२९ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त सहकार्यमा सञ्चालन भइरहेको सफाइ एवं हरियाली संरक्षण अभियान आज १५ औँ दिनमा पनि निरन्तर रूपमा सम्पन्न भएको छ। हरियाली प्रवर्द्धन, स्वच्छता तथा सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई लक्षित अभियानले स्थानीय क्षेत्रमा देखिने सकारात्मक परिवर्तनले उत्साह थपेको छ।

आजको कार्यक्रममा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहे। साथै भारतीय महावाणिज्य दूतावास बीरगंजका प्रमुख डी.एस. मिना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख पुरन चन्द भट्ट, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख भोला दहाल, समाजसेवी एवं पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बोधनका क्रममा मेयर सिंहले सीमाक्षेत्रलाई सुरक्षित, स्वच्छ र हरियालीयुक्त बनाउन सबै निकायको सामूहिक प्रयास अपरिहार्य भएको बताए। उनले महानगरले दिगो वातावरणीय सुधारका कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाइरहेको उल्लेख गर्दै स्थानीय सहभागितालाई प्रशंसा गरे। भारतीय दूतावासका प्रमुख मिनाले वातावरणीय सहकार्य र सीमाक्षेत्रीय व्यवस्थापनले दुई देशबीचको मैत्री सम्बन्ध थप मजबुत हुने धारणा राखे।

अभियानअन्तर्गत आज पनि सीमाक्षेत्रको सरसफाइ, झाडी कटान, सडकछेउका क्षेत्रको व्यवस्थापन, वृक्षारोपण तथा विद्यमान हरियालीको संरक्षण जस्ता कार्यहरू सम्पन्न गरिए। स्थानीयवासीहरूले १५ दिनदेखि चलिरहेको अभियानले वातावरणमा आएको उल्लेख्य सुधारप्रति सन्तोष व्यक्त गरेका छन्।

आयोजक निकायहरूले अभियानलाई अझ दिगो, प्रभावकारी र समुदायमुखी बनाउँदै आगामी दिनहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


सम्बन्धित समाचार