२९ कात्तिक,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनका क्रममा भएको दमनको राजनीतिक तथा नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रावलले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति कुनै पनि घटनाप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे। “संसदीय प्रणालीमा कुनै घटना घट्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्री नै जिम्मेवार हुन्छन्,” रावलले स्पष्ट पारे।
रावलले भदौ २४ गतेका घटनाहरू कसका निर्देशनमा भए भन्नेबारे गहिरो अनुसन्धान आवश्यक रहेको बताए। उनले जेनजी आन्दोलनका क्रममा बाह्य शक्तिको घुसपैठका कारण ठूलो क्षति भएको आशंका समेत व्यक्त गरे।
उनले वर्तमान सरकार छ महिनाको लागि गठन गरिएको चुनावी सरकार भएको स्मरण गराउँदै छिमेकी देशहरूसँग दीर्घकालीन प्रभाव पार्ने कुनै पनि प्रकारका सम्झौतामा जान नपाउने जिकिर गरे।
आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकारकै भएको उनले बताए।
रावलले मुलुकमा कैदीबन्दी र हतियारधारी समूहहरू बाहिर रहेकाले अराजकता बढ्दो रहेको दाबी गरे। वर्तमान चुनौतीका बीच कम्युनिस्ट शक्तिहरूबीच एकता भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

















