३० कार्तिक, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।
भारतबाट आयात मूल्य बढेर आएको कारण देखाउँदै निगमले शनिबार राति १२ बजेदेखि पेट्रोल र डिजेलको खुद्रा मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ वृद्धि गरिएको छ । मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य १६१ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै डिजेल १४७ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।
देशका अन्य प्रमुख भौगोलिक भेगमा पनि नयाँ मूल्य लागू भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५८ रुपैयाँ ५० पैसा र डिजेल १४४ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १६० रुपैयाँ र डिजेल १४६ रुपैयाँ तोकिएको निगमले जनाएको छ।
मूल्य वृद्धि लगातार भइरहेका बेला उपभोक्ताले भने यसको प्रत्यक्ष असर दैनिक खर्चमा पर्न सुरु भएको गुनासो गर्दै आएका छन् ।














