३० कार्तिक, काठमाडौँ । सल्लाहकार मनोनयनको विषयमा मतभेद चर्किएपछि नेपाल पत्रकार महासंघको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
तीनकुनेस्थित सिद्धार्थ कटेजमा शनिबार बोलाइिएको बैठक महासंघभित्रका दुई धारबीच सहमति नजुटेपछि बस्नै सकेन ।
महासंघमा रहेको नेपाल प्रेस युनियनकातर्फका पदाधिकारी र सदस्यहरूले सल्लाहकार मनोनयनमा प्रस्तुत सूचीप्रति असहमति जनाउँदै बैठक अघि बढ्न नदिएको स्रोतले जनाएको छ।
महासंघको विधानअनुसार निवर्तमान अध्यक्षले सल्लाहकारका रूपमा रहने व्यवस्था छ। तर, प्रेस युनियनका प्रतिनिधिहरू तत्कालीन कावा अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकारमा समावेश गर्नुपर्ने अडानमा थिए ।
विधानअनुसार निवर्तमान अध्यक्ष विपुल पोखरेल, अध्यक्षको निकटतम प्रतिस्पर्धी रमेश विष्ट र त्यसअघिका अध्यक्ष गोविन्द आचार्यलाई सल्लाहकार मनोनयनका लागि औपचारिक पत्र अध्यक्ष निर्मला शर्माले पठाएकी थिइन्। तर पोखरेल दाङमा रहेकाले उपस्थित हुन नसक्दा विष्ट र आचार्य बैठकस्थलमै दुई घण्टाभन्दा बढी पर्खिएर फर्किएका थिए।
एक केन्द्रीय सदस्यले बताएअनुसार प्रेस युनियनकाले ‘चारै जनालाई सल्लाहकार बनाइनुपर्छ’ भन्ने अडानबाट पछि नहटेकाले बैठक स्थगित गर्ने स्थितिबाट फर्कन नसकिएको हो। “अध्यक्षज्यूमाथि निर्णय गर्न निरन्तर दबाब थियो । बिहान १० बजेदेखि देशभरबाट आएका सदस्यहरू दिनभरै पर्खिए, तर बैठक बस्न सकेन,” सदस्यले भने।
घटनाबारे महासचिव रामप्रसाद दाहालले आन्तरिक प्रक्रियागत त्रुटिका कारण विवाद चर्किएको बताए। “यो कुनै व्यक्तिको विषय होइन, विधि-प्रक्रियाको कुरा हो,” उनले भने, “पदाधिकारीबीच छलफल गरेर सल्लाहकार मनोनयन गर्नुपर्ने प्रचलन थियो। तर यसपटक कुनै पूर्व–समन्वय बिना अध्यक्षले पत्र पठाएकाले विवाद बढ्यो।”
सल्लाहकार मनोनयनको टुंगो नलागेसम्म केन्द्रीय समिति बैठक कहिले बस्ने भन्ने स्पष्ट छैन। विवाद समाधानका लागि शीर्ष तहमा संवाद आवश्यक भएको महासंघका पदाधिकारीहरूले बताएका छन् ।

















