३० कात्तिक,वीरगञ्ज । । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगन्ज क्षेत्रले आफ्नो स्वर्ण जयन्ती विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्यरुपमा सम्पन्न गरेको छ। ५० वर्ष प्रवेशको अवसरमा केन्द्रले आयोजना गरेको दुईदिने कार्यक्रममा सांस्कृतिक प्रस्तुति, दाताप्रति सम्मान तथा आध्यात्मिक प्रशिक्षणलगायतका कार्यक्रम समेटिएका थिए।
कार्यक्रममा केन्द्रलाई भवन निर्माण तथा जग्गा दान गर्ने दाताहरूलाई सम्मान गरिनुका साथै १०८ कुमारीहरूको पूजा, स्नेहमिलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी राजदादीले समाजमा बढ्दै गएको विकृति र असन्तुष्टिलाई निरुत्साहित गर्दै आध्यामिक ज्ञानमार्फत भाइचारा, सद्भाव र मेलमिलापको भावना जागृत गराउँदै आएको संस्थाको भूमिकालाई प्रकाश पारिन्।
उनका अनुसार, आध्यात्मिक चेतनाले व्यक्तिगत चरित्र शुद्धीकरण र समाजमा सकारात्मक प्रभाव पर्ने भएकाले यस अभियानलाई अझ सशक्तरुपमा अघि बढाइनेछ।
कार्यक्रमका सहभागीहरूले वर्तमान संवेदनशील परिस्थितिमा समाजमा शान्ति, सकारात्मकता र मार्गदर्शन आवश्यक परिरहेका बेला ब्रह्मकुमारीले निभाइरहेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। उनीहरूले विशेषगरी महिलाको नेतृत्वले विश्वव्यापी रूपमा सकारात्मक परिवर्तनको सन्देश फैलाइरहेको र समाजमा जडित ‘महिलाले नेतृत्व लिन सक्दैन’ भन्ने धारणा चिर्न सफल भएको बताउँदै योगदानबारे उल्लेख गरे।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगन्जकी प्रमुख रवीना श्रेष्ठले सबैको साथ र सहयोगका कारण केन्द्रले सफलतापूर्वक ५ दशक पार गरेको बताइन्। उनले ब्रह्मकुमारी केवल संस्था मात्र नभई मानवजातिमा रहेको तनाव, असन्तुष्टि र अज्ञानतालाई हटाई आध्यात्मिक चेतना फैलाउने ईश्वरीय विश्वविद्यालय भएको प्रस्ट पारिन्।
स्वर्ण जयन्तीमा नेपालका विभिन्न प्रदेशका प्रतिनिधिहरू तथा भारतको राजस्थानस्थित माउण्ट आबू, विहारलगायत क्षेत्रबाट सयौँ संख्यामा ब्रह्मकुमारी सदस्यहरूको सहभागिता रहेको केन्द्रले जनाएको छ।
हाल नेपालभर ब्रह्मकुमारी संस्थाको करिब १ हजार प्रशिक्षण केन्द्र क्रियाशील रहेको छ।

















