३० कात्तिक,वीरगञ्ज । मधेस प्रदेशमा सात राजनीतिक दलले मुख्यमन्त्री सरोज यादवको बर्खास्तीको माग गर्दै आइतबार पनि धर्ना जारी राखेका छन्। उनीहरूले मधेस भवन अगाडि राष्ट्रिय झन्डासहित धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन्।
आजै सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ हुँदैछ, जसले आन्दोलनकर्ताहरूको ध्यान तानिरहेको छ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले धर्ना तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध भएको बताउँदै भने, “मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने अपेक्षा छ, त्यो निर्णय मधेसी जनताको पक्षमा आउने विश्वास छ।” उनले सर्वोच्चको निर्णयलाई सम्मान गर्ने बताउँदै गठबन्धनले अगामी आन्दोलनका स्वरूपबारे छलफल गरिरहेको जानकारी दिए।
धर्ना सञ्चालन गरिरहेको ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्।
गठबन्धनले अदालतको आजको सुनुवाइलाई निर्णायक मानिरहेको छ भने आन्दोलनलाई निरन्तरता दिने तयारीसमेत गरेको बताइएको छ।














