जीवनका बयालिस वर्ष निरन्तर बैंक र बीमामा बिताउनुभएका रमेश कुमार भट्टराई विगत दुई वर्षदेखि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको नेतृत्वमा हुनुहुन्छ । पूँजी वृद्धि गरेर पब्लिकमा जाने तयारी गरिरहनुभएका कम्पनीका प्रबन्ध संचालक भट्टराईसँग नेक्सजेनको गतिविधि र चर्चित विषय ‘प्रि–आइपीओ’ शेयरको सेरोफेरोबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ ।
सम्पत्ति व्यवस्थापनका लागि लामो समयदेखि लबिङ गरिरहेको नेक्सजेन म्यानेजमेन्ट अहिले के गर्दैछ ?
बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्ने उद्देश्यले हामी केही बैंकर्स मिलेर २०७५ सालमा नेक्सजेन म्यानेजमेन्ट कम्पनी स्थापना गरेका थियौँ । निरन्तर यस सम्बन्धी लबिङ पनि गर्यौँ । लामो समय कुर्दा पनि सम्पत्ति व्यवस्थापन सम्बन्धी कानुन आयेन । अनि बाध्य भएर अहिले लगानी र कर्पोरेट एडभाइजरी कम्पनी सञ्चालनको तयारी गरिरहेका छौँ ।
भनेपछि नेक्सजेनले विगतको आफ्नो मूल उद्देश्य परिवर्तन गरेको हो ?
जे काम गर्ने भनेर कम्पनी स्थापना गर्यौँ, त्यो सम्बन्धी कानुन निर्माणमा सरकार र केन्द्रीय बैंक उदासीन भएपछि बाटो परिवर्तन गर्नै पर्ने अवस्था आयो । तर पनि ऐन–कानुन निर्माण भएपछि त्यो काम गर्न छुट्टै कम्पनी खोल्ने योजना पक्कै छ ।
अहिले कम्पनीको गतिविधि केमा केन्द्रित छ र के गरिरहनुभएको छ ?
धितोपत्र बोर्डले केही महिना अघि मात्र लगानी कम्पनीको पब्लिक इस्युसम्बन्धी निर्देशन जारी गरेको छ । तीन वर्ष सञ्चालन भइसकेको, दुई वर्ष खुद मुनाफा आर्जन गरेको, नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेको र चुक्ता पूँजी न्यूनतम पचास करोड रहेको कम्पनीले पब्लिकलाई शेयर जारी गर्न सक्ने सुविधा दियो । नेक्सजेनको पूँजी बाहेक सबै शर्त पूरा भएको अवस्था छ । त्यसैले पचास करोड पूँजी पुर्याउने प्रक्रियामा छौँ । थप लगानीकर्तालाई संस्थापक शेयर बिक्री–वितरण गर्दैछौँ ।
प्रि–आइपीओको खेलमा अरू सरह नेक्सजेन पनि लागेको भन्न मिल्छ अब ?
बिल्कुल मिल्दैन । हामी छ वर्षदेखि निरन्तर खुद मुनाफामा छौँ । २०८०/८१ मा नगद लाभांश वितरण गरिसक्यौँ, गत वर्ष २०८१र८२ को खुद मुनाफा जगेडा कोषमा सारेका छौँ, हाम्रो अहिलेको नेटवर्थ अंकित मूल्य सय रुपैयाँभन्दा माथि छ । कम्पनी प्रोफेसनल टिमबाट स्थापना भएको हो र सञ्चालक समितिमा बैंक, बीमा र व्यवसायिक संस्थानका पूर्व र वर्तमान कार्यकारी प्रमुखहरू छन् । पब्लिक इमेज भएकाहरू छन् । पूँजी वृद्धि लगायतका सबै काम सार्वजनिक सूचना निकालेर साधारण सभाको निर्णयबाट कानुनी प्रक्रिया पूरा गरेर गरिएको छ । अरूसरह झुक्याएको वा ठगेको भनेर प्रश्न गर्ने ठाउँ नै छैन ।
विगत एक–दुई वर्षभित्र ‘रियल सेक्टर’ का धेरै कम्पनीहरूले प्रि–आइपीओबाट करोडौँ–अर्बौँ उठाए । मिडियामा आम लगानीकर्ता ठगिएको समाचारहरू छापिए । यसलाई कसरी हेर्नुभएको छ ?
प्रि–आइपीओलाई गलत तरिकाले हाम्रै देशमा परिभाषित गरिएको छ । संसारका जुनसुकै देशमा आइपीओ अगाडि कम्पनीलाई थप पूँजी आवश्यक परेमा, भइसकेका संस्थापकले शेयर नलिएमा नयाँ संस्थापकहरूबाट पूँजी संकलन गरिन्छ । म आफै संलग्न भएको महालक्ष्मी लाइफ, नेशनल फण्ड म्यानेजमेन्टलगायत धेरै कम्पनीहरूले विगतमा यही प्रि–आइपीओको माध्यमले पूँजी वृद्धि गरेका हुन् । अब यहाँ मुख्य कुरा नियतको हो । गलत नियतले झुक्याएर, नचाहिँदो लोभ देखाएर, गलत प्रोजेक्सन गरेर सोझा–साझा जनताबाट प्रि–आइपीओको नाममा पूँजी संकलन गर्नु चाहिँ गलत र ठगी नै हो ।
राम्ररी नचलेको, निरन्तर नोक्सानमा रहेको, अत्यधिक बैंक कर्जामा रहेको, कमजोर नेटवर्थ भएको र भर्खर स्थापना भएका कम्पनीको प्रि–आइपीओमा गरिएको शेयर लगानी डुब्ने नै भयो त ?
सबै कम्पनीको संस्थापक शेयरमा गरिएको लगानी डुब्छ भन्ने त बिल्कुल हुँदैन । तर, लामो समयदेखि चल्न नसकेर रुग्ण भएका, चलिरहे पनि लामो समय नोक्सानमा रहेका, बजारको चलखेलबाट फाइदा उठाउने नियतले अनुभवहीन व्यक्तिहरूले सञ्चालन गर्ने नयाँ कम्पनीमा गरिएको लगानी डुब्ने सम्भावना रहन्छ ।
सेकेन्डरी मार्केटको शेयरबजारमा आकर्षित हुनु त ठीकै हो । नियमन नहुने र अनियन्त्रित प्रि–आइपीओमा लगानी गर्न हामीकहाँ तछाडमछाड हुने अवस्था किन आउँछ ?
शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । बैंकहरूको मुद्दत खातामा ३–४ प्रतिशतभन्दा बढी ब्याज छैन । अस्थिरता र अराजकताले व्यवसायमा लगानी गर्ने अवस्था छैन । यस्तो प्रतिकूल परिस्थितिमा कसैले प्रि–आइपीओमा लगानी गर्दा, लकिङ पिरियडपछि चार–पाँच सयमा शेयर बेच्न पाइन्छ भनेर लोभ देखाएपछि आम नेपाली फस्नु स्वाभाविक हुन्छ । विगतमा आइपीओमा गएका कमजोर र नोक्सानमा रहेका कम्पनीको शेयर मूल्य उच्च रहेकोले राम्रो कमाइ हुने लोभमा शेयर लिन तछाडमछाड भएको हो ।
प्रि–आइपीओको दुरुपयोग र ठगीलाई नियन्त्रण–नियमन गर्न के गर्दा राम्रो हुन्छ ?
मैले अघि नै भनिसकेँ, व्यवसाय विस्तारका लागि नयाँ संस्थापकबाट पूँजी संकलन गर्नु अपराध होइन । तर सूचना लुकाएर, नभएको कुरा छ भनेर झुटो बोलेर गलत मनसायले लगानीकर्तालाई प्रि–आइपीओमा फसाउनु अपराध हो । यसमा शेयर लगानीकर्ता सजग र चनाखो हुनु जरुरी छ । सरकार र नियमनकारी निकायले पनि समयमै सु–सूचित गर्ने र निर्देशात्मक सूचना जारी गर्नुपर्छ । प्रिमियममा शेयर बिक्री गर्ने स्पष्ट कानुनी व्यवस्था गर्ने र गलत तरिकाले शेयर बिक्री गर्नेलाई कारवाही गरेर डरको वातावरण बनाउनु जरुरी छ ।
नेक्सजेन म्यानेजमेन्टको अबको कार्यक्रम र रणनीति के हुनेछ ?
कम्पनीको भावी योजना स्पष्ट छ । कर्पोरेट एडभाइजरी सेवा विस्तार गर्ने, लगानीका लागि सम्भावित उद्योग–व्यवसाय पहिचान गर्दै जाने, खुद मुनाफामा रहेका र न्यूनतम चार–पाँच प्रतिशत लाभांश दिने कम्पनीमा लगानी विस्तार गर्ने सोच बनाएका छौँ । धितोपत्र बोर्डले स्वीकृत दिएको क्षेत्रमा सब्सिडियरी कम्पनी खोलेर उद्योगी–व्यवसायीलाई एकीकृत सेवा दिने लक्ष्य पनि छ ।
अबको छ महिनाका लागि कस्तो ‘एक्सन प्लान’ बनाउनु भएको छ ?
मंसिर भित्र तोकेको पूँजी पुर्याउने र क्यापिटल मार्केटसँग एग्रिमेन्ट गर्ने, पुस भित्र क्रेडिट रेटिङ सम्झौता, शेयर लगत निकाल्ने लगायत आवश्यक प्रक्रिया पूरा गर्ने र माघको अन्त्यसम्म धितोपत्र बोर्डमा पब्लिक इस्यु स्वीकृतिका लागि निवेदन पेश गर्ने कार्यक्रम छ ।
देशको अवस्था अत्यन्त नाजुक छ, काम गर्ने वातावरणै छैन । यस्तो प्रतिकूल स्थितिमा पूँजी वृद्धि भएपछि लगानीकर्ताले प्रतिफल पाउने आधार के हो ?
एकदम राम्रो प्रश्न गर्नुभयो । प्रतिकूलतामा नै अनुकूलता खोज्नु हो । चुनौतीमा नै अवसर हेर्नुपर्छ । देशको आर्थिक अवस्था निकै तल झरिसक्यो । अब माथि नै जाने हो । विगतमा परीक्षणको रूपमा कर्पोरेट एडभाइजरीबाट राम्रो आम्दानी गर्यौँ । अब यसलाई विस्तार गरेर लगानी–योग्य परियोजनाको खोजी गर्दै लगानी गर्छौँ । अनि यसबाट भएको आय र प्रिमियमबाट तीन वर्ष पाँचदेखि सात प्रतिशत लाभांश दिने, त्यसपछि लगानी बिक्रीबाट कम्तीमा १५–२० प्रतिशत प्रतिफल दिने रणनीति बनाएका छौँ । विगतको अनुभवले यसमा हामी सफल हुनेमा विश्वस्त छौँ ।
अन्तमा संस्थापक अथवा प्रि–आइपीओ शेयरमा लगानी गर्न चाहनेलाई केही सन्देश ?
लगानी भविष्यको सम्भावनालाई हेरेर गर्ने हो, र त्यो सम्भावना वर्तमानको व्यवस्थापन टिम र सञ्चालक समूहमा निर्भर रहन्छ । त्यसैले लगानी गर्नु अगावै उद्योगको विगतको राम्रो ‘परफर्मेन्स’, वर्तमान अनुकूल वित्तीय अवस्था, व्यवसायले न्यूनतम बचत सरह लाभांश दिन सक्ने क्षमता र सञ्चालक–व्यवस्थापनको राम्रो इमेज हेरेर मात्र लगानी गर्न सुझाव दिन्छु ।

















