Logo

३० कात्तिक,काठमाडौं । विभिन्न घटक मिलेर गठन भएको नवगठित नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ। पेरिसडाँडामा बसेको पूर्वपदाधिकारीहरूको बैठकले देशव्यापी सन्देश सभा गर्ने निर्णय गरेको हो।

पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेका अनुसार कुन प्रदेशमा कहिले सभा गर्ने भन्ने विस्तृत तालिका भने अझै तय हुन बाँकी छ। “भोलि (सोमबार) बेलुकीसम्ममा सम्पूर्ण कार्यक्रमको मिति र स्थान निर्धारण हुन्छ,” उनले बताए।

पाण्डेले ९ गतेदेखि २०/२१ गतेसम्म प्रदेश र महत्त्वपूर्ण स्थान तथा जिल्लाहरूमा सन्देश सभा आयोजना गरिने जानकारी दिए। “सातै प्रदेशमा सन्देश सभा गर्नका लागि सबै नेताहरू बसेर छलफल भएको छ। केही सुझाव आएका छन्, त्यसैको आधारमा तालमेल मिलाउँदै कार्यक्रम बनाइन्छ,” पाण्डेले भने।

पार्टी एकताका प्रमुख अभियन्तामध्ये एक बामदेव गौतमले पनि एकीकृत पार्टीको सन्देश देशभर पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको बताए। “हामी समाजवाद निर्माण गर्ने सन्देश दिन्छौं। संविधानले निर्देशित समाजवाद निर्माण गरेर देशका समस्याहरूको समाधान हामीले गर्छौं,” गौतमले भने।

बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले समाजवादको बाटोमा ‘अर्जुनदृष्टि’ बनाएर पार्टी अघि बढ्ने बताउँदै आगामी कार्यक्रमहरू जनतामा एकताको सन्देश फैलाउने उद्देश्यले संचालन हुने बताए।


सम्बन्धित समाचार