३० कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र जनतालाई न्यायको अनुभूति दिलाउने सेवा प्रवाह सुनिश्चित गर्न आफू मातहतका निकायहरूलाई कडाइका साथ निर्देशन दिएका छन्।
आइतबार गृहमन्त्रालयमा गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सबै कर्मचारीलाई ‘एक्टिभिस्ट’ जस्तै होमवर्कसहित सक्रिय भएर काम गर्न निर्देश दिए। उनले आगामी चुनावलाई सरकारको मूल जिम्मेवारीका रूपमा उल्लेख गर्दै सम्पूर्ण ध्यान निर्वाचन तथा तयारीमा केन्द्रित गर्न आग्रह गरे।
प्रविधिमैत्री चुनाव, जनताको मताधिकार सुनिश्चिततामा जोड
मन्त्री अर्यालले भने, “अहिलेको सरकार भनेको नै निर्वाचनको सरकार हो। पुरानै संरचना र नियममा मात्र सीमित नबसी प्रविधिको अधिकतम प्रयोग गर्दै चुनावलाई सहभागितामूलक बनाउनुपर्छ। जनतालाई आफ्नो मताधिकार सुनिश्चित भएको अनुभूति दिलाउनु हाम्रो दायित्व हो।”
उनले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूले दायित्व प्रभावकारी ढंगले पूरा गर्ने वातावरण बनाइदिन निर्देशन दिए। सेवा प्रवाह जनताको घर आँगनसम्म पुर्याउन कर्मचारीहरू सक्रिय रूपमा जनसरोकारका क्षेत्रमा पुग्नुपर्ने उनले बताए।
जेन–जी समन्वय समिति प्रभावकारी बनाउन निर्देशन
गृहमन्त्री अर्यालले मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितका गुनासा छिटो सुन्न र सम्बोधन गर्न सके जनस्तरमा फैलिरहेका भ्रमपूर्ण धारणा स्वतः हट्ने बताए।
त्यस्तै, उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका लागि राहत कार्यविधि छिट्टै टुंग्याउन तथा राहत कार्ड फिल्डमै वितरण गर्ने आदेश पनि दिए।
नियमावली संशोधनमा उल्लेख्य प्रगति
बैठकमा गृहसचिव रामेश्वर दंगालले मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको बताए। उनले राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायत दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको तथा नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी गराए।
उनले मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न निर्देशन दिँदै भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा ‘आकाश–जमिनको परिवर्तन’ आएको उल्लेख गरे।
बैठकमा विभागीय प्रमुखदेखि शाखा प्रमुखसम्मले आफ्ना क्षेत्रमा भएका प्रगति, चुनौती र वर्तमान परिस्थितिबारे विवरण प्रस्तुत गरेका थिए।














