१ मंसिर, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्वाचन आयोगले दिएको समयावधि सकिएको छ ।
आयोगका अनुसार तोकिएको समयमा ३५ दलले दर्ता निवेदन दिएका छन् । तीमध्ये ७ दल दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने २८ दलको प्रक्रिया जारी छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनअनुसार आवश्यक कागजात माग्ने, जिम्मेवार व्यक्तिको सनाखत गर्ने जस्ता काम पूरा भएपछि बाँकी दलको दर्ताबारे निर्णय हुनेछ ।
जेनजी विद्रोहको माग अनुसारको चुनाव तर ‘जेनजी दल’ दर्ता भएन
जेनरेसन जेड (जेनजी) आन्दोलनको मागअनुसार मध्यावधि चुनाव त घोषणा भएको छ, तर आफू छुट्टै दल लिएर मैदानमा उत्रने चर्चा गरिरहेका जेनजीहरूले अन्ततः कुनै नयाँ दल दर्ता गराएनन् । उनीहरूले दर्ता भइसकेका दलहरूमध्ये उपयुक्तलाई समर्थन गर्ने बताएका छन् ।
पुराना नेताहरूको ‘प्रतिनिधि–मार्फत दल दर्ता’को पुरानो अभ्यास यसपालि पनि दोहोरिएको छ । केही चर्चित व्यक्तिले आफू अग्रभागमा नआई प्रतिनिधिमार्फत दल दर्ता गराउने प्रवृत्ति बलियो देखिएको छ । यसलाई नेपालको राजनीतिले नयाँ भन्दैन । पञ्चायतदेखि माओवादी आन्दोलनसम्म यस्ता ‘औपचारिक नेतृत्व एक, वास्तविक नेतृत्व अर्को’ शैली दोहोरिँदै आएको छ ।
यसपालि यस्तो शैली अपनाउने प्रमुख नामहरू :
कुलमान घिसिङ

अन्तरिम सरकारका तीन मन्त्रालय सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङले पहिलेदेखि चर्चामा रहेको नयाँ दल ‘उज्यालो नेपाल’ दर्ता गराएका छन् । तर दल दर्ता प्रक्रियामा उनले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक (अध्यक्ष) बनाएका छन् । उपाध्याय घिसिङकै सचिवालयमा कार्यरत थिए । औपचारिकता मात्र उपाध्यायको हो, वास्तविक नेतृत्व घिसिङकै मानिएको छ ।
दल दर्ता भइसकेपछि बौद्धमा बसेको पहिलो केन्द्रीय समिति वैठकमा कुलमान स्वयं सहभागी भएका थिए । उनले आफू संस्थापक केन्द्रीय सदस्य नभए पनि वास्तविक नेतृत्वमा रहेको संकेत दिएका सहभागीहरूले बताएका छन् ।
बैठकमा घिसिङले चुनावअघि एक महिना बाँकी हुँदा मन्त्री पद छाड्ने, त्यसपछि राष्ट्रिय प्रचार अभियानमा नेतृत्वको भूमिकामा रहने, र आगामी निर्वाचनमा उज्यालो नेपाल पहिलो दल बन्ने दाबी गरेका छन् ।
उज्यालो नेपालले ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । समितिमा घिसिङले छानेकै व्यक्तिहरू छन् । पार्टीले महाधिवेशनअघि अन्य पदीय संरचना नबनाई संयोजककै नेतृत्वमा चुनावमा जाने नीति लिएको छ ।
रेशम चौधरी

टीकापुर घटनापछि राजनीतिमा आएका रेशम चौधरीले पनि आफू पछाडि बसेर नयाँ दल दर्ता गराएका छन् । उनको दलको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल हो । पार्टीका अध्यक्ष अध्यक्ष कवीर सोब छन्, तर रेशम संरक्षकको भुमिका छन् ।
पछिल्लो समय पत्नी रञ्जितासँगको विवाद र २०७९ को चुनावमा रञ्जितालाई अध्यक्ष बनाएर गठन गरिएको दलमा देखिएको मतभेदकै कारण रेशमले यो ‘नयाँ संयोजन’ ल्याएका हुन् ।
जनार्दन शर्मा

एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको सम्भावित एकताबाट अलग भएका जनार्दन शर्माले पनि नयाँ दल ‘प्रगतिशील नागरिक पार्टी’ दर्ता गराएका छने । यहाँ पनि अध्यक्ष उनी आफैं होइनन् । अध्यक्षमा सविन सिग्देल छन् भने संयोजकको पहिलो प्रस्तावमा सुदन किराती छन् ।
एकता प्रक्रियामा प्रयोग भएका नाम र चिन्ह एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी बाध्यताका कारण शर्माले नयाँ नाममा दल दर्ता गराएका हुन् । चुनाव चिह्न तीनपाते फूल प्रस्ताव गरिएको छ ।
घनश्याम भूसाल
![थाहा खबर: प्रचण्ड–माधवहरूको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल [अन्तर्वार्ता]](https://i0.wp.com/thahacdn.prixacdn.net/media/albums/ghanshyam_bhusal_fI1nVoH8yp.jpg?w=720&ssl=1)
प्रचण्ड–माधव नेपाल एकता प्रक्रियामा सहभागी नबनेका घनश्याम भूसालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका छन् । दलको नाम नेकपा (वाम केन्द्र) राखिने भएको छ । यसको अध्यक्ष पनि उनी आफै होईनन् । संयोजकमा राजकुमार कक्षपति, सह–संयोजक नन्दलाल बन्जाडे छन् । चुनाव चिन्ह—सूर्यमूखी फूल प्रस्ताव गरिएको छ ।
दुर्गा प्रसाईं

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले अर्को नयाँ दल नागरिक बचाउ दल नेपाल दर्ताका लागि नाम अघि बढाएका छन् । यसको औपचारिक सभापति माधवप्रसाद खतिवडा छन् । उनी पहिले प्रसाईं नेतृत्वको नागरिक अभियानका प्रवक्ता थिए । २५ सदस्यीय समिति रहेको यो दलले जोडी पाइला चिन्ह मागेको छ ।
‘नेता आफू ‘पछाडि’, प्रतिनिधि ‘अगाडि’
फागुन २१ को मध्यावधि चुनावका लागि दल दर्ता अब टुंगिएको छ । यसपालि पनि ‘नेता आफू ‘पछाडि’, प्रतिनिधि ‘अगाडि’ शैलीले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको नयाँ चासो पैदा गरेको छ ।
भूमिगत राजनीतिबाट सुरु भएको यस्तो शैली अहिले स्थापित व्यक्तित्वहरूसम्म फैलिएको छ तर वास्तविक नेतृत्व भने दर्ता कागजातमा होइन, पछाडिबाट निर्देशन दिने व्यक्तिमा केन्द्रित देखिएको छ ।
आगामी २१ फागुनको मध्यावधि निर्वाचनले यी नवगठित दलहरूको प्रभाव, रणनीति र अन्तिम परिणाम कत्तिको टल्को रूपमा देखाउँछ भन्ने कुरा अब जनमतले नै निर्धारण गर्नेछ ।














