Logo

१ मंसिर, वीरगञ्ज। पर्सा जिल्ला अदालतको एक विवादास्पद फैसलाका कारण वीरगञ्ज महानगरपालिका–१६ नगवामा बलरामजी कलवारबाट जग्गा खरिद गरी बसोबास गर्दै आएका ५८ घरधुरी अहिले विचल्लीमा परेका छन्। बीस वर्षअघि खरिद भएको जग्गामा बलरामकी पत्नी शान्तिदेवी कलवारले अंशको दाबी गरी स्वामित्व कायम गर्न सफल भएपछि यो समस्या आएको हो।

कसरी सुरु भयो मुख्य किचलो ?

२०५१ साल असार ९ गते बलरामजी कलवार र उनका दाजु गोपालजी कलवारबीच पर्सा मालपोत कार्यालयमा अंशबण्डा भएको थियो। बण्डापत्रअनुसार नगवास्थित ६४ कठ्ठा जग्गा अवण्डाका रूपमा राखिएको थियो। पछि सो जग्गा ३२–३२ कठ्ठा गरी दुई भाइको भागमा परेको थियो।

बलरामजीले आफ्नो भागको ३२ कठ्ठा जग्गा २०६२ जेठ २७ गते सुमेश्वर प्रसाद कुशवाहालाई बिक्री गरेका थिए। कुशवाहाले सो जग्गा पछि ज्योतिलाल प्रसाद कलवारलाई बिक्री गरे। ज्योतिलालले ३२ कठ्ठालाई प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए, जहाँ अहिले ५८ घरपरिवारको बसोबास छ।

मालपोतको भूल र अदालतको फैसला

समस्याको मुख्य जड मालपोतको श्रेस्तामा देखिएको छ। बलरामले आफ्नो जग्गा बिक्री गरेपछि बाँकी रहेको ३२ कठ्ठा गोपालजीको नाममा कायम हुनुपर्नेमा मालपोतको श्रेस्ताबाट भूलवश बलरामको नाम हटाइएको थिएन।

बलरामको मृत्युपछि उनकी पत्नी शान्तिदेवीले सोही त्रुटिको फाइदा उठाउँदै मालपोतमा पुगेर पतिको नाममा आफ्नो नाम कायम गराइन्। त्यसपछि उनले जिल्ला अदालतमा मुद्दा दायर गरी गोपालजीको अंशमा परेको ३२ कठ्ठा जग्गामध्ये १६ कठ्ठामा आफ्नो स्वामित्व कायम गर्न सफल भइन्।

शान्तिदेवीले जेठाजुको अंशमा परेको जग्गामा हक कायम गरेपछि गोपालजीका छोरा संजय कुमार कलवार अदालत पुगे। अदालतले बलरामले बिक्री गरिसकेको ३२ कठ्ठा जग्गामध्ये १६ कठ्ठामा गोपालजीका छोराहरूको हक कायम गरिदियो।

जग्गा बिक्री भई विभिन्न व्यक्तिले खरिद गरेर हकभोग गरेको २० वर्षपछि अदालती फैसलाले गोपालजीका छोराहरूको हक कायम गरेपछि नगवाका ५८ घरपरिवारको सम्पत्तिको स्वामित्व संकटमा परेको हो।

ज्वाइँको भूमिका र लेनदेन मुद्दा

कलवार परिवारजनका अनुसार, बलरामका माइला ज्वाइँ रक्सौल निवासी रिपु सुदन प्रसादले जेठो ससुरालीको सम्पत्ति हडप्ने योजनामा सासू शान्तिदेवीलाई प्रयोग गरेको हुन सक्ने आशंका छ।

यसैबीच, बलरामबाट जग्गा खरिद गर्ने सुमेश्वर प्रसाद कुशवाहाले पनि शान्तिदेवी कलवारिनविरुद्ध पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेका छन्। कुशवाहाले २०६२ सालमा बलरामबाट जग्गा खरिद गर्दा तिरेको रकममध्ये लिखत तथा दर्ता बदर भएका कारण रु ३९ लाख ५३ हजार ९ सय भन्दा बढी फिर्ता पाउन माग गरेका छन्।

उनले मुलुकी देवानी संहिता २०७४ अनुसार न्यायिक उपचार माग गर्दै अदालत पुगेका हुन्। कुशवाहाको दाबी छ कि जग्गा संयुक्त दर्तामा देखिए पनि आफूहरूले बलरामकै नाममा परेको अंशबापतको जग्गाको मूल्य पूरा तिरेका थिए।

पीडितको उठिबासको चिन्ता र ठगी मुद्दाको तयारी

पीडित जग्गाधनीहरूले बलरामका माइला ज्वाइँ रिपु सुदन प्रसादले आफ्ना ससुराको हक नभएको जग्गामा किचलो खडा गरेर ५८ घरपरिवारको उठिबास लगाउन खोजेको आरोप लगाएका छन्।

पीडितहरूले रकम तिरेर किनेको जग्गामा भएको किचलो तत्काल अन्त्य नभएमा शान्तिदेवी कलवार, सुमेश्वर प्रसाद कुशवाहा, ज्योतिलाल प्रसाद कलवार र यस घटनाका मुख्य मतियार भनिएका रक्सौलका रिपु सुदन प्रसाद विरुद्ध जालसाजी र ठगी मुद्दा दर्ता गरेर कानूनी लडाइँ लड्ने बताएका छन्।

स्वामित्व संकटमा परेका घर जग्गाहरु


सम्बन्धित समाचार