१ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराधमा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणद्वारा आफूलाई सुनाइएको मृत्युदण्डको फैसलालाई पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेशबिनाको धाँधलीपूर्ण अदालतु द्वारा जारी गरिएको भन्दै ठाडै अस्वीकार गरेकी छिन् ।
ढाकामा फैसला भइरहँदा भारतमा निर्वासनमा रहेकी ७८ वर्षीय हसिनाले नयाँ दिल्लीबाट ‘इन्डिया टुडे’सँगको अन्तर्वार्तामा उक्त फैसला पूर्वनिर्धारित निष्कर्ष भएको दाबी गरिन् । उनले आफ्नो अनुपस्थितिमा भएको फैसलाको आलोचना गर्दै, ‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ,’ भनिन्। उनले आफ्नो पार्टी अवामी लिगका सदस्यहरूलाई मात्र विशेष रूपमा लक्षित गरिएको र विपक्षी दलले गरेका हिंसालाई बेवास्ता गरिएको आरोप लगाइन् ।
ढाकाको अदालतले हसिनालाई हिंसा भड्काएको र अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ, जसमा पूर्वगृहमन्त्री असदुज्जमान खान कमाललाई पनि सोही सजाय सुनाइएको छ ।
फैसला अस्वीकार गर्दै हसिनाले विश्वका कुनै पनि व्यावसायिक कानुनविद्ले बंगलादेशको यो अदालतलाई समर्थन नगर्ने दाबी गरिन् र निष्पक्ष अन्तर्राष्ट्रिय मञ्चमा मुद्दाको सामना गर्न आफू तयार रहेको दोहोर्याइन् । उनले तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री मुहम्मद युनुसलाई असंवैधानिक रूपमा सत्ता कब्जा गरेको र अतिवादी तत्वहरूको समर्थनमा काम गरेको आरोप समेत लगाइन् ।
आगामी फेब्रुअरीमा आम निर्वाचन घोषणा हुनुअघि पूर्वप्रधानमन्त्रीमाथि आएको यो फैसलाले बंगलादेशमा राजनीतिक तनाव र अस्थिरता बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।















