Logo

१ मंसिर,वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवनमा कार्यालय सञ्चालनमा ल्याएको छ। विगत साढे तीन वर्षदेखि वडा नम्बर ४ दापासुगौलीस्थित गुदरीबाबा मन्दिरको सामुदायिक भवनमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालय अब आफ्नै सुविधासम्पन्न भवनमा सारिएको हो।

सोमबार आयोजित पूजापाठ कार्यक्रमपछि गाउँपालिका उपाध्यक्ष ममता महत्तो चौधरीले जानकारी दिइन् कि अब गाउँपालिकाका दैनिक प्रशासनिक कार्य र सेवाहरू नवनिर्मित भवनबाटै सञ्चालन हुने भएका छन्।

नवनिर्मित तीन तले प्रशासनिक भवनको निर्माणमा करिब ६ करोड ९ लाख रुपैयाँ खर्च भएको छ। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिँदै भने, “भवनको शिलान्यास २०८० फाल्गुनमा गरिएको हो। भवन निर्माणमा संघ सरकारको शहरी विकास मन्त्रालयले ६० प्रतिशत योगदान (करिब ३ करोड ६० लाख रुपैयाँ) दिएको छ भने गाउँपालिकाले बाँकी ४० प्रतिशत रकम जुटाएको हो।”

उपाध्यक्ष ममता महत्तोका अनुसार, नवनिर्मित भवनमा २० वटा कोठा, दुई वटा सभाकक्ष, एउटा न्यायिक इजलाश, शौचालय लगायतका संरचना निर्माण गरिएको छ। उनले थपे, “साढे तीन वर्षदेखि मन्दिरको सामुदायिक भवनमा कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या आइरहन्थ्यो। अब आफ्नै भवन भएकाले प्रशासनिक कामकाज सहज र व्यवस्थित रूपमा सञ्चालन हुनेछ। सेवाग्राहीहरूले पनि अब सेवा लिन धेरै सहज हुनेछन्।”

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले भने, “भवनको पूजापाठ सम्पन्न भए पनि यसको औपचारिक उद्घाटन अझै बाँकी नै छ। सम्भावित रूपमा यही मंसिर महिनाभित्र भव्य कार्यक्रम आयोजना गरी भवनको औपचारिक उद्घाटन गरिने तयारीमा छौं।”

सोमबारको पूजापाठ समारोहमा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरे, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको समेत उपस्थिती थियो। समारोहमा उपस्थित सबैले नयाँ भवन निर्माण कार्यमा सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरे।

उक्त नवनिर्मित भवनले गाउँपालिकाका कार्यालय सञ्चालनलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार