Logo

१ मंसिर,काठमाडौं । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अदालतमा भएको आगजनी र तोडफोडका कारण केही समयसम्म अदालत केवल आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको थियो।

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)ले गत कात्तिक २१ गते निर्णय गर्दै आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट प्रभावित भएका मुद्दा तथा अवरुद्ध भएका सबै सेवाहरू मंसिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

अदालतले जनाएको छ कि अबदेखि अवरुद्ध भएका सबै सेवाहरू सुरु हुनेछन्। मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाउँको निवेदन, पुनरावलोकन निवेदन तथा दर्ता र सुनुवाइसम्बन्धी सबै प्रक्रिया पूर्ण रूपमा पुनः सञ्चालन हुनेछन्।

गत जेनजी आन्दोलनका कारण सर्वोच्च अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए। अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणाली पुनः प्राप्त (रिकभर) गरेर सबै डेटा सुरक्षित गरेको छ।

सर्वोच्च अदालतका अधिकारीहरूले जनतालाई जानकारी दिँदै भने, “अबदेखि अदालतमा मुद्दा दर्ता, सुनुवाइ र अन्य सबै प्रशासनिक प्रक्रिया नियमित रूपमा सञ्चालन हुनेछ। हामीले सबै अवरुद्ध सेवाहरू व्यवस्थित गरी जनतामा सहज सेवा प्रवाह सुनिश्चित गरेका छौँ।”

अदालत पुनः सञ्चालन भएसँगै न्यायिक प्रक्रिया सुचारु हुने र प्रभावित सेवाग्राहीले अब नियमित रूपमा न्याय प्राप्त गर्न सक्ने वातावरण बनेको अदालत स्रोतले जनाएको छ।


सम्बन्धित समाचार