१ मंसिर,काठमाडौं ।राष्ट्रिय परिवर्तन पार्टीले निर्वाचन आयोगबाट आधिकारिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीका अध्यक्ष राजेश पटेलको नेतृत्वमा दर्ता भएको यो पार्टीको चुनाव चिह्न बाँसुरी छ।
अध्यक्ष पटेल गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए। उनले दल दर्ता प्राप्तिलाई ऐतिहासिक क्षण भन्दै पार्टीको अभियानलाई सहिदहरूको सपना र न्यायको पक्षमा उभिन प्रतिबद्ध भएको बताएका छन्।
निर्वाचन आयोगमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पटेलले भने, “यो केवल पार्टी दर्ताको प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाणपत्र हो।”
पार्टीले शहीदहरूको बलिदानलाई मात्र इतिहासमा सीमित नराखी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने प्रतिज्ञा गरेको छ। उनीहरूले भ्रष्टाचारविरुद्ध तत्काल कदम चाल्न, प्रणाली परिवर्तन गरेर प्रत्यक्ष कार्यकारीतर्फ स्पष्ट रोडम्याप तय गर्न, घाइतेहरूको उपचार र पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने आफ्नो प्राथमिक एजेन्डा समेत सार्वजनिक गरेका छन्।















