१ मंसिर,काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका वरिष्ठ नेता सभामुख देवराज घिमिरेसँग छलफलमा सहभागी भएका छन्।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका थिए। कांग्रेसका प्रमुख सचेतक घिमिरेले भेटघाटलाई अनौपचारिक भएको बताए। उनले भने, “चिया–कफी खाँउ भनेर गएका थियौं। अनौपचारिक कुराकानी भयो। संसद् पुनर्स्थापनाबारे पनि कुरा भयो। आगामी निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमा यस्तै चिया गफ भयो।”
सभामुख घिमिरेले आफू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले भने, “म संसद् पुनर्स्थापनाकै पक्षमा हो। संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ। यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ।”
गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो भने आगामी २१ फागुनका लागि चुनावको मिति तोकिएको छ। निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारी दर्ताको समय ६ माघ तोकिएको छ।
यसैबीच निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आजदेखि १० मंसिरसम्म खुला छ। पहिलो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र **नेपाल मजदुर किसान पार्टी (नेमकिपा)**ले दल दर्ताको निवेदन दिएका छन्।
प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ४६ र एमालेका ३२ सदस्यले हस्ताक्षर संकलन गरेका छन्। यो विषयमा छलफल गर्न एमालेले मंगलबार विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक राखेको छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
नेताहरूका अनुसार, मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि आवश्यक भूमिका निर्वाह गर्न यो बैठक महत्वपूर्ण रहेको छ।















