Logo

२ मंसिर, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले देशभर व्यापक रूपमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने भएको छ। आगामी मंसिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा आयोजित हुने सभा सम्बन्धी जानकारी पार्टीले सोमबार जारी गरेको प्रेस नोटमार्फत सार्वजनिक गरेको हो।

मंसिर १२ गते सुदूरपश्चिम प्रदेशको धनगढीबाट औपचारिक सुरुआत हुने अभियान अन्तर्गत मंसिर १३ मा लुम्बिनी प्रदेशको दाङ (देउखुरी), १४ मा गण्डकी प्रदेशको पोखरा, १५ मा प्रदेश नं. १ को विराटनगर र १७ मा उपत्यका विशेष प्रदेशअन्तर्गत काठमाडौंमा सन्देश सभा आयोजना हुनेछ। यसैगरी मंसिर १८ मा कर्णाली प्रदेशको सुर्खेत र १९ मा संघीय सम्पर्क समन्वय प्रदेशअन्तर्गत काठमाडौंमा कार्यक्रम गरिने उल्लेख छ।

योजनाअनुसार मंसिर २० मा मधेश प्रदेशको जनकपुरमा सभा आयोजना गरिनेछ भने मंसिर २१ गते प्रवास समितिको भर्चुअल सभा सञ्चालन हुनेछ। मंसिर २३ मा बागमती प्रदेशस्थित हेटौँडामा विशेष एकता सन्देश सभा हुने जनाएको छ। पार्टीले देशव्यापी संरचना सुदृढीकरण तथा एकताप्रति जनस्तरमा सकारात्मक धारणा निर्माण गर्ने उद्देश्यसहित कार्यक्रम तय गरेको बताइएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित प्रेस नोटमा मंसिर २६ गतेसम्म सबै जिल्लामा र मंसिर २९ गतेसम्म ७५३ वटै स्थानीय तहमा एकता सन्देश सभा सम्पन्न गर्ने निर्णय गरिएको उल्लेख छ। पार्टी संगठनलाई एकीकृत र सुदृढ बनाउने दीर्घकालीन अभियानअन्तर्गत आगामी सभाहरू महत्वपूर्ण हुने पार्टीका नेताहरूले बताएका छन्।


सम्बन्धित समाचार