२ मंसिर, वीरगञ्ज । उपकार सेवा नेपाल संस्थाले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध-वृद्धा आश्रममा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले आश्रममा बसोबास गर्दै आएका अपाङ्ग, सुस्त मानसिक अवस्था भएका नागरिक, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाका लागि यस महिनासमेत आवश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो।
आश्रममा रहेका १८ जनाका लागि चामल, दाल, खानेतेल, नुन, बिस्कुट, मसुर दाल, मुङ दाल, स्वाबिन, चना, अचार, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, बेसार, खुर्सानी, धनिया लगायतका सामग्री संस्थाले व्यवस्थापन गरिएको संस्थाका अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिईन्।
सहयोग सामग्रीहरू एक कार्यक्रममार्फत आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई हस्तान्तरण गरिएको सरावगीले जानकारी दिईन्।
उपकार सेवा नेपालले आश्रममा आश्रित नागरिकहरूको दैनिक जीवन सहज बनाउन वर्षौंदेखि नियमित रूपमा मासिक खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि समाजसेवामुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।















