२ मंसिर, काठमाडौं । । पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिका सम्बन्धमा छलफल गर्नका लागि नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।
विघटित प्रतिनिधिसभाका सांसदहरूलाई समेत सहभागी गराइएको यो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएपछि एमालेले पहिलो पटक आफ्ना विघटित सांसदहरूसहित संसदीय दलको बैठक आयोजना गरेको हो । बैठकको मुख्य एजेन्डा पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधि सभा विघटनको विषय र पार्टीले लिने भावी नीति रहने नेताहरूले जनाएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका कारण राजीनामा दिएपछि प्रतिनिधि सभाबाट सरकार गठन हुन नसकेको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका छन् । सरकार र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेका छन्, जहाँ सरकारले बजेट विनियोजन गरिसकेको छ भने निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्तासहितको कार्यतालिका समेत तय गरिसकेको छ।
अहिले मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तोकिएको छ । यद्यपि, नेकपा एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै निरन्तर पुनर्स्थापनाको माग गर्दै आएको छ। पुनर्स्थापनाको पक्षमा एमालेका ३२ जना र नेपाली कांग्रेसका ४६ जना गरी विघटित प्रतिनिधि सभा सदस्यहरूको हस्ताक्षर समेत संकलन भइसकेको छ।
प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई कसरी अगाडि बढाउने भन्ने विषयमा एमाले र कांग्रेसका नेताहरूले सभामुख देवराज घिमिरेसँग निरन्तर संवाद गरिरहेको सन्दर्भमा आजको संसदीय दलको बैठक महत्वपूर्ण मानिएको छ।















