२ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई काम गर्ने वातावरण मिलाउन माग गर्दै नेकपा एमालेले आज जनकपुरमा धर्ना सुरु गरेको छ।
मुख्यमन्त्री यादव आवद्ध दल नेकपा एमालेले आज जनकपुरमा धर्ना सुरु गरेको हो । सर्वोच्च अदालतले यादवलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको र मुख्यमन्त्री नियुक्ति संवैधानिक नरहेको भन्दै ७४ सांसदले रिट दायर गरेको विवादको पृष्ठभूमिमा एमालेका नेता–कार्यकर्ताहरू जनक मन्दिर परिसरमा संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै धर्नामा बसेका छन् ।
यता, मुख्यमन्त्री यादवको नियुक्तिसम्बन्धी विवादमाथि आज सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदैछ । अर्कोतर्फ, एमाले नेतृत्वको सरकार गठन असंवैधानिक भएको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलतामा काम गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रेका विपक्षी ७ दलले पनि आज नवौँ दिन पनि आफ्नो धर्ना जारी राखेका छन् ।
उनीहरूले मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोकामा नै धर्ना दिएका छन्, जसका कारण जनकपुरको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। सर्वोच्चमा सुनुवाइ भइरहेकै बेला दुवै पक्षबाट गरिएको प्रदर्शनले मधेश प्रदेशको राजनीतिक गतिरोधलाई सतहमा ल्याएको छ।















