२ मंसिर, काठमाडौं । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा कर्मचारी अभावका कारण डेढ दर्जनभन्दा बढी डेस्क खाली रहँदा दैनिक हजारौं यात्रुले कागजात जाँचमा सास्ती भोग्नुपरेको छ ।
विमानस्थलको आगमन र प्रस्थानतर्फ यात्रु जाँचका लागि ४५ वटा डेस्क रहे पनि आवश्यक पर्ने १ सय ३५ जना अधिकृतको तुलनामा अहिले केवल १ सय ११ जना मात्रै कार्यरत छन्, जसले गर्दा यात्रु आवागमन सहज बनाउन बनाइएका संरचना पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
पछिल्लो समय भिजिट भिसा मापदण्ड खुकुलो पारिएपछि र अध्यागमन कर्मचारीका विगतका गतिविधिहरू अनुसन्धानको दायरामा आउन थालेपछि कर्मचारीहरू धमाधम सरुवा मागेर गृह मन्त्रालयतिर जान थालेका छन्। विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसाको आवरणमा हुने असुली धन्दा नियन्त्रणमा कडाइ गरिएपछि एक वर्ष नपुग्दै २ उपसचिवसहित २३ जना कर्मचारी सरुवा भएर बाहिरिएको पुष्टि गरेका छन् । विगतमा विमानस्थल अध्यागमनलाई आकर्षक मान्दै सोर्सफोर्स लगाउने कर्मचारीहरूले नै अहिले सरुवा माग्नुलाई गृह मन्त्रालयका अधिकारीहरूले भिजिट भिसा मापदण्ड सुधारको पहललाई केही पक्षले नरुचाएको संकेतको रूपमा लिएका छन् ।
दैनिक १९ हजारभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने विमानस्थलमा जनशक्तिको कमीले गर्दा सेवा प्रभावकारी हुन सकेको छैन । विभागले कर्मचारीको दरबन्दी बढाउनका लागि संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण अघि बढाएको बताए पनि तत्कालको समस्या भने यथावत् छ ।
यसैबीच, सरकारले तोकेका कागजातसहित पुगेका यात्रुलाई कुनै पनि बहानामा फिर्ता (अफलोड) गर्ने एयरलाइन्समाथि कारबाही गर्ने गरी अध्यागमन विभागले आन्तरिक परिपत्र जारी गरेको छ।















