Logo

२ मंसिर, काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिका–७, उच्छवस्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयको शिक्षक पदका लागि लगातार १८ पटक विज्ञापन गर्दा पनि योग्य जनशक्ति भेट्टाउन नसकेपछि पुनः १९औँ पटक विज्ञापन आह्वान गरेको छ ।

संघीय अनुदानको शिक्षक पद रिक्त हुँदा विद्यार्थीको पठन–पाठनमा गम्भीर असर परेको भन्दै विद्यालय व्यवस्थापन समितिले गणित विषयका माध्यमिक तहका एक जना शिक्षकका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । विद्यालयका अनुसार यसअघिको १८ पटकको विज्ञापनमा पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएपछि बाध्य भएर फेरि सूचना निकाल्नु परेको हो । यस पदका लागि गणित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

विद्यालयले योग्य शिक्षक छनोटका लागि लिखित, मौखिक वा प्रयोगात्मक जाँचमध्ये कुनै एक विधि अपनाउने र आवेदन शुल्क २ हजार रुपैयाँ तोकेको छ। प्रधानाध्यापक दानबहादुर बुढाले गणित शिक्षकको अभावले विद्यार्थीको अध्ययन प्रभावित भएको जनाएका छन् ।


सम्बन्धित समाचार