२ मंसिर,वीरगञ्ज ।‘राष्ट्रका लागि २ घण्टा’ भन्ने नारासहित वीरगञ्जमा आजदेखि मधेस विश्वविद्यालयका विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा जिम्मेवारी दिइएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सुरू गरिएको यो अभियानले सहरको यातायात प्रणाली सहज बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक युवराज कटुवालका अनुसार अभियानले युवाहरूलाई सामुदायिक सुरक्षामा सक्रिय भूमिका बन्न प्रेरित गर्नेछ। विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम, भिडभाड व्यवस्थापनलगायतका विषयमा आवश्यक प्रशिक्षण तथा निर्देशन दिएपछि उनीहरूलाई घण्टाघर, वीरगञ्ज बसपार्क, पावर हाउस चौक लगायतका व्यस्त स्थानमा खटाइने निर्णय गरिएको छ।
प्रहरी उपरीक्षक कटुवालले अभियानले ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने मात्र होइन, युवा पुस्तामा सुरक्षा सचेतना, जिम्मेवारी बोध र नेतृत्व क्षमताको विकासमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरे।
ट्राफिक प्रहरीले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘सुरक्षा पहिले’ को अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न युवाको सहभागिता महत्त्वपूर्ण हुने जनाएको छ।















