Logo

२ मंसिर,काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईं मध्यराति पक्राउ परेपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्ला प्रहरी परिसरलाई सुरक्षामा कडाइ गर्न निर्देशन दिएको छ। त्यसमध्ये मुख्य बजार, चोक तथा संवेदनशील स्थानमा आज बिहानैदेखि बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शनमा उत्रिने घोषणा गरेका थिए, जसपछि सुरक्षा व्यवस्था झनै कडा बनाइएको हो।

प्रसाईंले मंसिर ७ गते देशभर आन्दोलन गर्ने घोषणा गर्दै तयारी तीव्र पारेका थिए। तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसरको भद्रकालीस्थित हिरासतमा राखिएको छ। आजै अदालतमा पेश गरी म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार