२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक झालिएको पुष्टि गर्दै अहिले रिकभरको काम भइरहेको जानकारी दिए।
‘साइट ह्याक भएको छ, तर डाटाहरू सुरक्षित रहेको बुझिएको छ,’ प्रवक्ता काफ्लेले बताए। उनका अनुसार अहिले वेबसाइट सञ्चालनमा आउन सकेको छैन र ह्याक कसले र कहाँबाट गर्यो भन्नेबारे अनुसन्धान जारी छ।
ह्याक भएपछि विभागको वेबसाइट खोल्दा सुरुमा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको संदेश देखिएको थियो, जुन अहिले हटाइसकिएको छ।
हालै निर्वाचन आयोगले मतदाता नामावली संकलन प्रक्रिया राष्ट्रिय परिचयपत्रको विवरणसँग जोडेको भए पनि ह्याक भएको वेबसाइटमा संवेदनशील व्यक्तिगत विवरण नरहेको विभागका कर्मचारीहरूले स्पष्ट पारेका छन्। ‘यो सामान्य जानकारीसहितको वेबसाइट हो। यहाँ रहेका डकुमेन्टहरू पनि सुरक्षित छन्,’ एक कर्मचारीले बताए।
गृह मन्त्रालयले नागरिकलाई आत्तिन नपर्ने जनाउँदै तथ्यगत छानबिनपछि आवश्यक कदम चालिने बताएको छ।















