२ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको विध्वंस लाई ‘प्रतिगामी’ र ‘सुनियोजित’ घटनाको संज्ञा दिँदै यसको जिम्मेवारी तत्कालीन सरकार सञ्चालन गरिरहेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू रहेको बताएका छन् ।
उनले समग्र घटनाक्रमलाई नियाल्दै यो विध्वंस नेताहरूको कमजोरीकै कारण भएको स्पष्ट पारेका छन् । डा. यादवका अनुसार, भदौ २३ गते १९ जना युवाको ज्यान गएको घटनामा ‘घुसपैठ’ भएको भनिए पनि राज्य चलाउनेहरूलाई यसबारे पूर्वजानकारी हुनुपर्थ्यो। उनले तत्कालीन सरकारमा रहेका एमाले र कांग्रेसका नेताहरूले जेनजीको आन्दोलनलाई ‘हल्का ढंगले लिएको’ र सूचना राख्न नसकेकोमा दोष लगाएका छन् ।
पूर्वराष्ट्रपति यादवले जेनजी युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य र सामाजिक सञ्जाल खुलाउनेजस्ता जायज मागहरू राखेको स्वीकार गर्दै २४ भदौमा राष्ट्रिय धरोहर र आफ्नै सम्पत्तिमाथि भएको आक्रमणलाई ‘प्रतिगामी डिजाइन’ भनेका छन् । उनले राज्य यस घटनाप्रति बेखबर भएको र यसमा राज्य चलाउनेहरूको पूरापुर दोष रहेको ठहर गरेका छन्।















