काठमाडौँ, २ मङ्सिर। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी दलहरू मिलेर भर्खरै गठन भएको नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ लाई विश्वका २५ देशका कम्युनिस्ट पार्टीहरूले समर्थनसहित शुभकामना सन्देश पठाएका छन् ।
पार्टी निर्माण भएलगत्तै वरिष्ठ नेता झलनाथ खनालले विश्वभरिका कम्युनिस्ट पार्टीहरूलाई नयाँ एकताको जानकारी गराएका थिए । नेता खनालका अनुसार नेपालमा भएको यो वाम एकताले विश्वभरका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई नयाँ उत्साह र प्रेरणा दिएको छ। शुभकामना सन्देशहरूमा विश्वका विभिन्न पार्टीहरूले नेपाली कम्युनिस्ट पार्टीको यो पहललाई नेपालमा स्थिर, जनमुखी र प्रगतिशील राजनीति निर्माणतर्फको ऐतिहासिक कदम का रूपमा उच्च मूल्याङ्कन गरेका छन् ।
खनालले यो एकताले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय वाम आन्दोलनलाई पनि सशक्त सन्देश दिएको र यो सहकार्य विश्वव्यापी रूपमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरेका छन्।















