२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरुद्धमा पार्टीले एकसाथ कानुनी लडाइँ र सडक सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।
मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको ‘असंवैधानिक सरकार’ हट्नुपर्नेमा कुनै सम्झौता नहुने स्पष्ट पारे । ओलीले एमालेले गर्ने सङ्घर्ष शान्तिपूर्ण, संवैधानिक र जनताको जीउधनको रक्षा गर्ने किसिमको हुने उल्लेख गर्दै भदौ २३ र २४ गतेको आन्दोलनलाई देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ बिन्दु को रूपमा व्याख्या गरे । उनले देशद्रोही काममा चुप लागेर बस्न नसकिने भन्दै संविधान र लोकतन्त्रको पक्षमा उभिन दुईवटै प्रकारका कदम चाल्ने आवश्यकता औँल्याए ।
ओलीले पार्टीले पुनर्स्थापनाका लागि निर्णय गरिसकेको र अहिलेको सरकारलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बताएका छन् । उनले संविधान पल्टाएर हेर्दा विघटन पूर्ण रूपमा असंवैधानिक रहेको र पुनर्स्थापना बाहेक अर्को फैसला आउने संवैधानिक बाटो नै नरहेको दाबी गरे ।















