२ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा घाइते भएका २ हजार ४२९ जना व्यक्तिहरूलाई जनही १५ हजार रुपैयाँ का दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले अन्य महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । यसैगरी, बैठकले नेपालको पुँजी बजारलाई नियमन गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचनाबारे अध्ययन गरी सुझाव दिनका लागि प्रकाशजंग केसीको संयोजकत्वमा एक सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।
अन्य निर्णयहरूमा माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरी अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ लाई नियुक्त गर्ने निर्णय समेत समावेश छन् ।















