३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा निर्वाचन आयोगमा दर्ता भएका १२३ राजनीतिक दलसँग आज संयुक्त छलफल गर्ने भएकी छन्। यसका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
निर्वाचन नजिकिँदै गर्दा दल दर्ता, उम्मेदवारी तयारी र आचारसंहिता तथा व्यवस्थापकीय पक्षमा देखिएका चुनौतीहरूबारे सुझाव लिन तथा चुनावमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्रीले सबै दर्ता दलहरूलाई एकै स्थानमा बोलाउँदैछिन् ।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छुट्टै परामर्श गरेकी थिइन् । त्यस्तै हालै सडक आन्दोलन र राजनीतिक तनावको मुखमा रहेका जेनजी समूहका प्रतिनिधिहरूसँग पनि उनले विशेष वैठक गरी चुनावमा सहभागी गराउने प्रयासका विषयमा छलफल गरेकी थिइन् ।
प्रधानमन्त्रीको आजको संयुक्त बैठकले निर्वाचनको समग्र तयारी, सुरक्षा अवस्था, राजनीतिक सहमति र आगामी प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सरकारले निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र सर्वसमावेशी निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ भने आजको बहुदलीय छलफलबाट निर्वाचन वातावरण अझ स्पष्ट हुने विश्वास गरिएको छ ।

















