३ मंसिर, वीरगञ्ज । मधेश प्रदेशसभाले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पदअनुकुल आचरण नगरेको प्रस्तावमाथि आज छलफल गर्न बैठक बोलाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको हो ।
बैठकमा उपस्थितिलाई सुनिश्चित गर्न सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत सूचनासमेत पठाएको छ।
पछिल्लो कात्तिक २७ गते सात दलीय गठबन्धनमा रहेका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलले पदअनुकुल आचरण नदेखाएको आरोप लगाउँदै प्रस्ताव दर्ता गराएका थिए। कानुनअनुसार यस्तो प्रस्ताव दर्ता भएको एक साताभित्र सदनमा छलफल गर्नुपर्ने व्यवस्था छ।
उपसभामुख बबिता राउत ईश्वरको निर्देशनमा आजको बैठक बोलाइएको हो। यसअघि सात दलीय गठबन्धनअन्तर्गतका ३२ जना प्रदेश सांसदले मंगलबार उपसभामुखलाई बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि हुने आजको छलफल प्रदेशसभाको राजनीतिक समीकरण र आगामी कदमका लागि महत्त्वपूर्ण संकेतक मानिएको छ।

















