Logo

३ मंसिर, काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बजार अवस्थाले प्रभाव पारेपछि समर्थन मूल्य घटाउने निर्णय गरेको छ। मंगलबार बसेको संघको कार्यसमिति बैठकले उत्पादन र बजार आपूर्तिको समीक्षापछि बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य दर तय गरेको हो।

संघका अनुसार अघिल्लो मूल्यभन्दा ठूला तथा मध्यम अण्डामा क्रमशः ५०–१५ रुपैयाँसम्म कमी गरिएको छ। यस अनुसार अब ठूला अण्डाको प्रतिकरेट मूल्य ४५० रुपैयाँ र मध्यम अण्डाको प्रतिकरेट मूल्य ४३५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि ठूला अण्डाको प्रतिकरेट मूल्य ५०० रुपैयाँ र मध्यम अण्डाको ४५० रुपैयाँ थियो।

यस्तै, साना अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको संघका सचिव मदन केसीले जानकारी दिए।

संघले चितवनबाट मुलुकभरका अण्डा डिपोमा पुर्‍याउँदा ढुवानी भाडा, कार्टुन तथा क्रेट लगायतका खर्च समेट्दा प्रतिपेटी १३० रुपैयाँ थपिने भएकाले उक्त लागत अन्तिम मूल्यमा स्वाभाविक रूपमा जोडिने उल्लेख गरेको छ।

संघले उत्पादन वृद्धि, बजारमा बढ्दो प्रतिस्पर्धा तथा चाडपर्व पछि खपतमा आएको सामान्य गिरावटलाई मूल्य समायोजनको मुख्य आधारका रूपमा लिएको जनाएको छ। नयाँ मूल्य दरले उत्पादक र उपभोक्ता दुवैको पक्षमा सन्तुलन कायम हुने संघको अपेक्षा छ।


सम्बन्धित समाचार