३ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा आज बिहान जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबीच धक्कामुक्की तथा झडप भएको छ। अचानक उत्पन्न तनाव नियंत्रित गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
बिहान करिब १०:३० बजे एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने जानकारी सार्वजनिक भएपछि जेनजी समूहले विरोध प्रदर्शन सुरु गरेको थियो। सो क्रममा प्रदर्शनकारी र एमाले कार्यकर्ताहरू आमनेसामने आएपछि स्थिति तनावपूर्ण बन्दै झडप चर्किएको बताइएको छ।
स्थानीयका अनुसार झडपका क्रममा एमालेले तयार गरेको स्वागत द्वार जेनजी समूहले च्यातेर भत्काइदिएका छन्। घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि मुख्य चोकसम्म सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा रहेको र थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले अतिरिक्त फोर्स तैनाथ गरिएको छ। सुरक्षा संवेदनशीलता बढेकाले स्थानीय प्रशासन सतर्क मोडमा रहेको जनाएको छ।