३ मंसिर,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज कफ्र्यू आदेश जारी गरेको छ। सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२।०८।०३ गते दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म कफ्र्यू लागू हुनेछ। कफ्र्यू अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ।
कफ्र्यू लागू क्षेत्रः
१) गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र।
२) सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रभित्र।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सूचना जारी गर्दै कफ्र्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका वाहन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट रहेको यात्रुहरूको आवत–जावतमा सुरक्षाकर्मीमार्फत आवश्यक सहजीकरण गरिने जानकारी दिएका छन्।
प्रशासनले सर्वसाधारणलाई कफ्र्यू आदेशको पूर्ण पालना गर्न र सुरक्षाकर्मीको निर्देशनअनुसार सहयोग गर्न आग्रह गरेको छ।
यो पनि पढ्नुहोस :–
सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप, सुरक्षा कडा
















