Logo

३ मंसिर,वीरगञ्ज । मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि आज छलफल हुने तय भए पनि बैठक सुरु हुनुअघि नै प्रदेशसभा भवनको विद्युत् लाइन काटिएपछि कार्यसूची अनिश्चित बनेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सदस्यहरू समयमै उपस्थित भए पनि विद्युत् अबरुद्ध भएपछि बैठक सञ्चालन हुन सक्ने–नसक्ने अन्यौलता बढिरहेको छ।

प्रदेशसभा स्रोतका अनुसार वैकल्पिक रूपमा सभा कक्ष सञ्चालन गर्न जेनेरेटर सेट ल्याइएका छन्। साथै इन्टरनेट पहुँच सुनिश्चित गर्न वाइफाइ जडान गर्ने काम पनि जारी छ।

सात दलीय गठबन्धन तथा नेपाली कांग्रेससहितका ६४ जना सांसदले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गरेपछि आजको बैठक राजनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको थियो। मङ्गलबार ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई ज्ञापनपत्र बुझाउँदै बैठक बोलाउन आग्रह गरेका थिए, जसअनुसार आज १ बजेबाट बैठक आह्वान गरिएको हो।

विद्युत् अवरोधका कारण प्रदेशसभाभित्र अहिले पनि प्राविधिक तयारी भइरहेकाले बैठक कहिले सुरु हुने भन्ने विषयमा स्पष्टता आउन बाँकी छ।


सम्बन्धित समाचार