३ मंसिर,वीरगञ्ज । प्रशासनले कर्फ्यू आदेश जारी गरेको बाबजुद एमालेको प्रदेश भेला परवानीपुरमा जारी रहेको छ। एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भए पनि, सिमरामा उत्पन्न तनावका कारण कार्यक्रम सामान्य रूपमा सञ्चालन हुने तयारी भइरहेको एमाले नेता किसान श्रेष्ठले जानकारी दिए। जनप्रदर्शन भने स्थगित गरिएको छ।
सिमरा विमानस्थलमा जेन-जी प्रदर्शनको विरोधका कारण जहाज उड्न नसकेपछि नेताहरू काठमाडौंमै रोकिएका छन्।
जनप्रदर्शनका लागि विभिन्न स्थानबाट आउँदै गरेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्यूको कारण बाटैमा रोकिएका छन्। श्रेष्ठका अनुसार, ‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ।’
यद्यपि परवानीपुरस्थित डीएभी स्कुल र चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजारभन्दा बढी सहभागी भेला भइसकेका छन्। आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम सम्पन्न गरिने तयारी भइरहेको नेता श्रेष्ठले बताए।
भेलामा मधेशका आठ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन्। मुख्य सडक नजिकै भएको भेला स्थलमा सुरक्षा र सतर्कता अपनाउँदै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।















