Logo

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा नेकपा एमालेका नेता तथा कार्यकर्ता र जेन–जी युवाबीच भएको झडपको घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले देश भ्रमणको वातावरण सहज नबनाए तोकिएको मिति फागुन २१ गते कसरी निर्वाचन सम्भव हुन्छ भन्दै प्रश्न उठाएका छन् । एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू परवानीपुरमा आयोजना गरिएको युवा जागरण सभाका लागि सिमरा जाँदै गर्दा विमानस्थल क्षेत्रमा भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं। जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं, तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन, त्यसले झनै द्वन्द्व बढाउँछ । यो समय संयम र एकता राख्नुपर्ने समय हो।’

शर्माले यस घटनालाई जेनजीको वास्तविक भावना नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिने जेनजी पुस्ताले कसैको समाज भ्रमण गर्ने अधिकारविरुद्ध उभिन नसक्ने तर्क राख्दै कसैले पनि निषेधको राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् ।


सम्बन्धित समाचार