३ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ ।
रोचक पक्ष यो छ कि, एमालेले एकातर्फ प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ भने अर्कोतर्फ निर्वाचनको तयारीमा जुट्दै दल दर्ता गराएको हो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको प्रमुख माग संसद पुर्नस्थापना नै भए पनि निर्वाचन आयोगको नियमित प्रक्रिया अन्तर्गत दल दर्ता गरिएको स्पष्ट पारेका छन् ।
‘संसद् पुनःस्थापनाको हाम्रो माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेका हौँ,’ गौतमले भने । मंगलबार नै एमालेको विघटित संसद्को संसदीय दलको बैठकले संसद पुनस्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो । यसरी, संसद पुनर्स्थापनाको कानुनी लडाइँ लड्दै गर्दा पनि एमालेले आन्तरिक रूपमा भने आगामी निर्वाचनको तयारीलाई तीव्र पारेको देखिन्छ।















