Logo

३ मंसिर, काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत नेपालले थप ७ अर्ब ८ करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) बराबरको अतिरिक्त अनुदान सहयोग प्राप्त गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच एमसीसी नेपाल सम्झौतामा यो अतिरिक्त अनुदान रकम थप गर्ने निर्णय भएको हो । यससँगै अब एमसीसी सम्झौताअन्तर्गत नेपाललाई उपलब्ध हुने कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । यस कुल रकममा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलरको योगदान रहनेछ ।

अमेरिकी दूतावासका अनुसार यो थप स्रोतले मुख्य रूपमा नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण, प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारको निर्माणलाई पूर्णता दिन र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन मद्दत गर्नेछ । यस सम्झौतामार्फत ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहुँचमा सुधार ल्याउनुका साथै अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

साथै, यो परियोजनाले अमेरिकी प्रविधि र कम्पनीहरूलाई नेपाली बजारमा प्रवेश गर्ने अवसर पनि विस्तार गर्ने दूतावासले जनाएको छ ।


सम्बन्धित समाचार