३ मंसिर, काठमाडौं । बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच भएको झडपलाई जेनजी मधेश प्रदेश संयोजक शिव यादवले एमालेको ‘सुनियोजित षड्यन्त्र’ भनेर दाबी गरेका छन् ।
उनले मंगलबार सिमरा चोकमा जेनजी बारा समितिको पूर्वनिर्धारित कार्यक्रम चलिरहेका बेला परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालित समूहले आक्रमण गरी माहोल अशान्त पारेको आरोप लगाएका छन् । यादवले फेसबुकमार्फत जानकारी दिँदै जेनजी बारा संयोजक सम्राट उपाध्यायसहित दर्जनौं जेनजी युवाहरू कुटपिटबाट घाइते भएको बताएका छन् । उनले जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यो घटना आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले गरिएको दुष्प्रयास भएको उल्लेख गरेका छन् ।
जेनजी मधेश संयोजक यादवले यस घटनाका मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै उनलाई मधेश निषेध गर्ने प्रयास गरेको ठहर गरेका छन्। उनले घटनामा संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । यादवका अनुसार, एमालेले मधेशमा पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गरिरहेको र यसले शान्ति सुरक्षामा खलल पुर्याएकाले राज्यका संयन्त्रहरूलाई संवेदनशील भई कडा कदम चाल्न अनुरोध गरेका छन् ।















