३ मंसिर,वीरगञ्ज । बारामा सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरैनियास्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टबाट खटिएको टोलीले बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर स्थित नेपाल–भारत सीमा क्षेत्रमा उक्त व्यक्ति पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
सशस्त्र प्रहरी निरीक्षक सन्दीप केसीको नेतृत्वमा खटिएको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा लु. ४ प ६४६२ नम्बरको मोटरसाइकललाई रोक्दै चेकजाँच गर्दा मोटरसाइकलभित्र लुकाई राखिएको श्रोत नखुलेको रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकम र मोटरसाइकलसहित ती व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।















