Logo

३ मंसिर,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकतामाथि उठाइएका प्रश्नहरूले देश फेरि अस्थिरतामुखी बन्न सक्ने चेतावनी दिएकी छन्। सिंहदरबारमा राजनीतिक दलहरूसँग जारी छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन्।

प्रधानमन्त्री कार्कीका अनुसार, निर्वाचन घोषणा भइसकेपछि पनि कतिपय दलहरूमा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग तथा सरकारको वैधानिकताको विषयमा उठाइएका प्रश्नहरू राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा फिर्ता लैजान सक्ने अवस्था देखिएको छ।

उनले सरकारले संवैधानिक अडानमा कुनै दोधार नगरेको स्पष्ट पार्दै भनिन्, “आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो। हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन। निर्वाचनको अनिवार्यताप्रतिको प्रतिबद्धता दह्रिलो र स्पष्ट छ।”

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई संवैधानिक निकासतर्फ उन्मुख हुन आग्रह गर्दै संसद् पुनर्स्थापनामा अडान लिनुले विगतका राजनीतिक दुर्घटनाहरू दोहोर्याउने संकेत गर्ने चेतावनी दिइन्।

उनका अनुसार अहिले आवश्यक कुरा राजनीतिक बहसलाई निर्वाचन केन्द्रित बनाउँदै संविधानले देखाएको बाटोबाट समाधान खोज्नु हो।


सम्बन्धित समाचार