४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने स्पष्ट गरेकी छन् । बुधबार सिंहदरबारमा राजनीतिक दलहरूसँग भएको विस्तृत छलफलपछि समापन मन्तव्य राख्दै प्रधानमन्त्री कार्कीले झापाबाट चुनाव लड्ने ‘प्रस्ताव आएको’ सुने पनि आफू त्यसतर्फ नलाग्ने प्रस्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। तर म चुनाव लड्दिनँ। म चुनाव लड्न आएको पनि होइन।’
उनले आफ्नो मुख्य उद्देश्य मुलुकमा निष्पक्ष, कम खर्चिलो र नयाँ पुस्तालाई अवसर दिने वातावरणसहितको निर्वाचन गराउनु रहेको बताइन्। ‘हामी निर्वाचन गराउनै आएका हौं। यो देश नयाँ पुस्ताको हातमा जाओस्, भिजन भएको नेतृत्वले देश सम्हालोस् भन्ने हाम्रो चाहना हो,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
देशमा बढ्दो भ्रष्टाचार, निराशा, आक्रोश र विष्फोटक वातावरणलाई नियन्त्रण गर्न अब सबैले मिलेर प्रयास गर्नुपर्ने उनको भनाइ थियो। ‘अब यसलाई सम्हाल्नुपर्छ। सम्हालिनुपर्छ,’ उनले भनिन् ।
सुविधा वा पदलोभका कारण आफू नेतृत्वमा आएकी होइन भन्दै प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिमा मुलुकको हितका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने भावना मात्र रहेको बताइन्। ‘म प्रधानमन्त्री हुँ भन्ने गौरव छैन। देशको यो दुर्गतिमा धर्म, इमान र मुलुक सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौं,’ उनले भनिन्।
आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावका सबै तयारी अघि बढिसकेको उल्लेख गर्दै उनले निर्वाचन समयमै र शान्तिपूर्ण रूपमा हुने विश्वास दिलाइन्।















