Logo

४ मंसिर, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले एमालेको ११‍औँ राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आवश्यक निर्णय गर्दै तयारी प्रक्रियालाई औपचारिक रूपले अघि बढाउनेछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको जानकारी पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले दिए ।

एमालेको ११‍औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने कार्यक्रम छ। महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया पनि मंसिर १३ गते देशभर एकै दिन गर्ने निर्णय भएको छ। आजको बैठकमा प्रतिनिधि छनोटका सुरुवाती तयारी, संगठनगत कामको प्रगति तथा व्यवस्थापकीय पक्षबारे व्यापक चर्चा हुने बताइएको छ ।

यस्तै, पार्टीले यही शनिबार काठमाडौंमा आयोजना गर्ने ताकत प्रदर्शनबारे समेत विस्तृत आयोजना बैठकमा प्रस्तुत गरिने सचिव अधिकारीले बताए। एमालेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब सृजना गरिरहेको अवस्थामा सो प्रदर्शनलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

हालै जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको च्यासलस्थित पार्टी कार्यालयको मर्मत–सम्भार सम्पन्न भएपछि सचिवालय बैठक पहिलोपटक त्यहीँ बस्न लागेको हो। यसअघि सचिवालय बैठक अध्यक्ष ओलीको भक्तपुर, गुण्डुस्थित निवासमा नियमित रूपमा बस्दै आएको थियो ।


सम्बन्धित समाचार