Logo

४ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ४ बजेबाट सुरु हुने यो आजको एकमात्र खेल हो ।

दोस्रो संस्करणमा लुम्बिनीले आजबाट आफ्नो अभियान थाल्दैछ। गत संस्करणमा निराशाजनक प्रदर्शन गरेको लुम्बिनी यसपटक मजबूत उपस्थितिसहित मैदान उत्रन तयारीमा छ। अघिल्लो संस्करणमा  राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा खेलेको लुम्बिनीले ७ खेलमध्ये १ खेलमात्र जित्दै तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो। तर, यसपटक रोहितसहित ६ खेलाडीलाई रिटेन गर्दै र अफगानिस्तानका अलराउन्डर गुल्बादिन नइबलाई अनुबन्ध गरेपछि टोली सन्तुलित र प्रतिस्पर्धी देखिएको छ।

यता, चितवन राइनोज आज दोस्रो जितको खोजीमा रहनेछ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सकारात्मक सुरुआत गरेको चितवन प्लेअफसम्मको यात्रा सहज बनाउने उद्देश्यसहित मैदान उत्रनेछ। युवा अलराउन्डर कुशल मल्ल मार्की खेलाडी तथा कप्तान रहेको चितवनले गत संस्करण औसत प्रदर्शन गरे पनि एलिमिनेटरसम्म पुग्ने सफलतासमेत हासिल गरेको थियो।

चितवनले यस पटक पनि दुई विदेशीसहित १० खेलाडीलाई निरन्तरता दिएको छ। गत संस्करणको सबैभन्दा उत्कृष्ट खेलाडी घोषित इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सैफ अली जैबलाई पुनः अनुबन्ध गर्दै टोलीलाई थप मजबुत पारेको छ।

गत संस्करण लिग चरणमा यी दुई टोलीबीच भएको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो, जुन लुम्बिनीको त्यही संस्करणको एकमात्र जित पनि थियो। आज पुनः त्यही परिणाम दोहोर्याउने उद्देश्य लुम्बिनीको छ। तर, पहिलो खेलमै उत्कृष्ट प्रदर्शन देखाएको चितवन बलियो चुनौतीका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ।

आजको खेलले दुवै टोलीको प्रारम्भिक यात्रामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले भिडन्त रोचक हुने अनुमान गरिएको छ।


सम्बन्धित समाचार