४ मंसिर, काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतले पदमुक्त गरेसँगै प्रदेशको राजनीतिक नेतृत्व चयनको विषयमा छलफल तीव्र भएको छ ।
रिक्त रहेको सभामुख पद र नयाँ मुख्यमन्त्री चयनको विषयमा सहमति जुटाउन आज सर्वदलीय बैठक बस्दैछ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए अनुसार, यो बैठक नयाँ सभामुख चयन र मुख्यमन्त्री को विषयमा केन्द्रित रहनेछ। प्रदेशको सात दलीय गठबन्धनभित्र सभामुखका लागि कुन दलले दाबी गर्ने र मुख्यमन्त्री पद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नै निरन्तरता पाउने वा अन्य दललाई हस्तान्तरण हुने भन्नेमा बैठकमा गम्भीर छलफल हुनेछ ।
प्रमुख सचेतक यादवले आजको बैठकमा तत्काल निर्णयभन्दा पनि एजेन्डाको तयारी र दलहरूबीचको मत मिलानमा जोड दिइने बताएका छन्, साथै सभामुख चयनको विषयमा केन्द्रबाट आउने निर्देशनले पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे । यता, लोसपाले भने मुख्यमन्त्री आफूले नै पाउनेमा पूर्ण विश्वस्त रहेको जनाएको छ । लोसपा संसदीय दलका नेता जयनुल राइनले वर्तमान गठबन्धन एक ढिक्का रहेकाले जितेन्द्र सोनल नै पुनः मुख्यमन्त्री बन्ने दाबी गरे ।















